मदनकृष्ण, हरिबंश, अनुराधासहितका व्यक्तित्वले डा.केसीलाई खाना लिइदिनुस भने
आम नागरिकको सार्वजनिक स्वास्थ्य र शिक्षामा सस्तो, सुलभ र सुरक्षित
पहुँचको लागि तपाईंको निरन्तर अभियानको हामी प्रशंसक र अनुयायी हौं। र
अभियानमा हाम्रो ऐक्यबद्धता छ।
चिकित्सा सेवा लगायत सम्पूर्ण स्वास्थ्य क्षेत्रमा मौलाएको अनियमितता,
बेथिति र भ्रष्टाचार विरुद्धको यहाँको कसरतले राज्य मात्र नभई बृहत् समाजकै
आँखा खोलिदिएको छ कि, सोच र साहसको आधारमा चलाइएका आन्दोलनले अन्ततोगत्वा
सफलता प्राप्त गर्दछ र जनतालाई राहत मिल्छ ।
यसअघिका तपाईंका क्रियाशीलताले पनि सार्वजनिक स्वास्थ्य क्षेत्रलाई अगाडि
लगेकै हो, विभिन्न तह र तप्काका अकर्मण्यता र जालझेलका बाबजूद। मुलुक धेरै
वर्षको संक्रमणमा अल्झिएको अवस्थामा पनि स्वास्थ्य क्षेत्रलाई नागरिकमुखी
बनाउने तपाईंको अभियानको प्रेरणाले स्कूल र कलेज शिक्षा, रोजगार, सार्वजनिक
यातायात, विकास निर्माण लगायत धेरै क्षेत्रमा लागिपरेकाहरुलाई सम्भावनाका
ढोका देखाइदिएको छ। यो अभियानले कर्मठ नागरिकलाई ऊर्जाशील बनाउने छ,
बनाउँदै गएको छ।
डा. केसी, स्वास्थ्य क्षेत्रका संस्था र पदाधिकारीसँग धेरै वर्षको
प्रयासपश्चात्, अरु सबै प्रक्रियागत उपायहरु निरर्थक भएपछि तपाईंले
शान्तिपूर्ण सत्याग्रहको बाटो अपनाउनुभयो। पूरा नहुने आश्वासन र कबुलबाट
सार्वजनिक स्वास्थ्यलाई गुणस्तरीय बनाउन नसकिने रहेछ, यो हामीले पनि
प्रत्यक्ष देख्दै आएको तीतो सत्य हो, र तपाईं पाँचौं पटक अनशनमा बस्न बाध्य
हुनुभयो। तपाईंको यस सत्याग्रहको सम्बोधन गर्न सरकारले पूरै एक हप्ता ढिलो
गर्नु लज्जास्पद थियो, र हामीलाई यसबारे खेद छ।
डा. केसी, तपाईंको सत्याग्रहको दबाबको कारण आज आएर आफ्ना विगतका गल्तीहरु
सच्याउन तथा बृहत् हिसाबले स्वास्थ्य क्षेत्र सुधारमा लाग्न सरकार बाध्य
भएको छ। तपाईंको सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका १० बुँदे
मागमध्ये अधिकांश सम्बोधन हुने सम्भावना रहेको हामीले देख्यौं, र तपाईंको
अभियानप्रति सचेत नागरिकको चासोको कारण पनि सम्बोधन हुन्छ भन्ने हाम्रो
ठम्याइ छ। सरकारी वार्ता टोलीसँगको तपाईंको सम्झौंतामा सरकारको
प्रतिबद्धता, अख्तियारी तथा समयतालिका प्रष्ट किटान होस् भन्ने हाम्रो
सुझाव छ। सरकारबाट भएका आश्वासन तथा कतिबद्धताको कार्यान्वयनको निगरानी
गर्ने बाचा हामी तपसिलका हस्ताक्षरकर्ता तपाईँसामु गर्दछौं।
डा. केसी, तपाईँको दर्शन तथा क्रियाशीलताका कारण दबाब महसूस गर्दै नेपाल
सरकारले जुन कार्यक्रम अगाडि ल्याउने कटिबद्धता जाहेर गरेको छ, त्यसले
हाम्रो स्वास्थ्य तथा चिकित्सा क्षेत्रलाई दक्षिण एशियामै नमूनामूलक बनाउने
छ, हाम्रो अनुमान छ। कार्यान्वयन पक्ष सबल हुने हो भने यस कार्यक्रमले
चिकित्सा र स्वास्थ्यका विकृतिलाई धेरै हदसम्म मेटाउने छ, र दशकौं विभिन्न
भागमा विवश भई कुरी बसेका सेवाग्राही आम नागरिकलाई राहत मिल्नेछ। र, नयाँ
समय प्रवेश गरेको भान दिनेछ।
डा. केसी, हाम्रो बुझाइमा विश्वविद्यालयहरुले र नेपाल मेडिकल काउन्सिलले
गरेका सम्बन्धनका गतिविधिलाई कानूनी तथा न्यायिक छानबीनको दायरामा ल्याउने
तथा प्रक्रिया नपुगेका सम्बन्धनलाई खारेज गर्न सरकार तयार भएको छ। यस
सन्दर्भमा नियतवश गलत गर्ने जो कोही पदाधिकारीमाथि कारबाहीको माग हाम्रो
पनि रहनेछ। मुलुकको विभिन्न भागमा आम नागरिकको पहुँच पुग्ने गरी सरकारी
मेडिकल कलेज क्रमशः स्थापना गर्ने कबुल पनि सरकारबाट आएको छ, साथै
चिकित्साशास्त्र स्नातकोत्तर पढाइलाई दुई वर्षभित्र निःशुल्क बनाउने तथा यस
प्रक्रियाद्वारा उत्पादित चिकित्सकहरुलाई विकट र क्षेत्रमा कार्यरत गर्ने
प्रतिबद्धता।
नेपालमा आश्वासन पश्चात् काम कुरा बिर्सिने चलन छ, र तपाईं स्वयं यस
प्रवृत्तिको भुक्तभोगी हुनुहुन्छ। यसैले सरकारले गरेको कुनै पनि
प्रतिबद्धताको कार्यान्वयनको सुनिश्चितता महत्वपूर्ण छ। यस सन्दर्भमा हामी
लगायत मुलुकभरको बृहत् नागरिक समाज तपाईंलाई साथ दिनेछौं, अनुगमन गर्नेछौं
किनकि जनताको स्वास्थ्य तथा जीविकासँग तपाईंको अभियान पूर्णतः गाँसिएको छ।
डा. केसी, तपाईंको दबाबको फलस्वरूप सरकारले शुरु गर्छु भनेको कार्यक्रम त
मुलुकमा सुलभ, सस्तो तथा स्तरीय स्वास्थ्य सेवाको लागि शुरुआत मात्र हो, र
यात्रा लामो हुने नै छ। यो पूरै यात्रामा आम नागरिकलाई तपाईंको साथ चाहिने
छ, र हामी तपाईंलाई साथ दिनेछौं। आफ्नो निष्ठापूर्ण नागरिकको चिकित्सा सेवा
बाहेक देश–विदेशमा विपत् पर्दाको तपाईंको निस्वार्थ र निर्धक्क
क्रियाशीलताबाट पनि कोही बञ्चित हुनुहुँदैन।
डा. केसी, हाम्रो भावनाको गहिराइदेखि तपाईंलाई विनम्र अनुरोध छ, पाँचौं
अनशनको आज १२औं दिन खाना लिइदिनुस्। हामी सबै तपाईंको साथ छोड्ने छैनौं।

0 comments