अनिलको पुनरागमन इख
काठमाडौ, चैत्र १० - अनिल मण्डलले राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानको ओइरो लगाउने क्रम जारी छ । सोमबार बैतडीसँगको सेमिफाइनलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय २८ रन बनाएर ओपनिङ ब्याट्सम्यान अनिलले अन्य थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाए ।
यो अनिलको तेस्रो शतक हो । अनिल एकै प्रतियोगितामा तीन शतक हान्ने पहिलो खेलाडी हुन् । त्रिभुवन आर्मी क्लबका अनिलले आफ्नो पूर्वटिम जनकपुरविरुद्ध १ सय १३ र वीरगन्जविरुद्ध १ सय १४ रन बनाएका थिए ।
वीरगन्जसँगको खेल उनको पछिल्लो इनिङ्स थियो । उनी राष्ट्रिय प्रतियोगितामा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौंका परेश लोहनीले २०५६ र २०५७ मा जय ट्रफीमा लगातार दुई शतक हानेका थिए । वीरगन्जसँग अघिल्लो खेलमा लगातार ३ शतक बनाउने आफ्नै कीर्तिमानलाई उछिन्दै अनिलले राष्ट्रिय प्रतियोगितामा चौथो शतक बनाएका हुन् । २०६९ को राष्ट्रिय प्रतियोगितामा अनिलले अविजित १ सय ६ रन बनाएका थिए ।
'मेरो दिमागमा एउटै कुरा खेलिरहेको छ,' अनिलले कान्तिपुरसँग भने, 'जसरी पनि राम्रो खेल्नुपर्छ । जसरी पनि रन हान्नुपर्छ, मलाई जसरी पनि राष्ट्रिय टिममा पुनरागमन गर्नुछ । त्यहीअनुसार खेलिरहेको छु । यसका साथै मंगलबारको फाइनलमा आफ्नो टिमलाई जिताउन पनि जरुरी छ ।' २०१३ मा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन-३ देखि राष्ट्रिय टिममा अनिलको ब्याटबाट रन बन्न सकेको थिएन । गत वर्ष जनवरीमा विश्वकप छनोटदेखि उनी राष्ट्रिय टिममा पनि छैनन् । एक वर्ष अगाडि विश्व ट्वान्टी-२० खेल्न पनि उनी बंगलादेश वैकल्पिक खेलाडीका रूपमा पुगेका थिए ।
सोमबार अन्य दुई कीर्तिमान पनि अनिलको नाममा बने । अनिलले महेश क्षेत्रीसँग पहिलो विकेटका लागि २ सय ४७ रन जोडे । राष्ट्रिय प्रतियोगितामा यो कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो । अनिल र महेशले नै यसै प्रतियोगितामा जनकपुरविरुद्ध पहिलो विकेटका लागि २ सय १५ रन जोड्नु यसअघिको सबैभन्दा ठूलो साझेदारी थियो ।
महेशले प्रतियोगितामा ४ सय १४ रन बनाइसकेका छन् । उनले एकै प्रतियोगितामा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएका हुन् । राष्ट्रिय टिममै पुनरागमन गर्ने तयारीमा रहेका महेशले सोमबार १ सय ३४ रन बनाए । राष्ट्रिय प्रतियोगितामा यो तेस्रो व्यक्तिगत उच्च स्कोर हो । पहिलो शतक बनाएका महेशले प्रतियोगितामा ३ सय ८४ रन बनाइकेका छन् ।
फाइनल अगाडिका खेलसम्म गरी सर्वाधिक रन बनाएकाले अनिलले प्रतियोगिताको उत्कृष्ट ब्याट्म्यानको पुरस्कार पाउने निश्चित भइसकेको छ । १५ विकेट लिएका बैतडीका कमल ऐरीले उत्कृष्ट बलरको पुरस्कार पाउनेछन् ।
प्रकाशित मिति: २०७१ चैत्र १० ०८:३८

0 comments