न्यूजील्याण्ड पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा
अकल्यान्ड (एजेन्सी), चैत्र १० - दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका ग्रान्ट इलियटले खेलको दोस्रो अन्तिम बलमा छक्का प्रहार गरेपछि न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा ४ विकेटको विजय हात पार्दै न्युजिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।
२ बलमा ५ रन बनाउनु पर्ने अवस्थामा इलियटले आफ्नो जन्म भुमि देशविरुद्ध लामो छक्का प्रहार गरेका थिए । न्युजिल्यान्डले आइतबार मेलबर्नमा हुने फाइनलमा भारत र अस्ट्रेलिया बीचको विजेतास“ग खेल्ने छ । यी दुई टोली बिहीबार सिड्नीमा भिड्दै छन् ।
वर्षाका कारण प्रभावित खेलमा दक्षिण अफ्रिकाले ४३ ओभरमा ५ विकेट गुमाई २ सय ८३ रन बनाएको थियो । डकवर्थ लुइस पद्धतिमा न्युजिल्यान्डलाई ४३ ओभरमा २ सय ९८ रनको नया लक्ष्य दिइएको थियो ।
ग्रान्ट इलियटले अविजित ८४ रन बनाएपछि न्युजिल्यान्डले १ बल अगाडी लक्ष्य पुरा गरेको हो । म्यान अफ द म्याच इलियटले ७३ बलको इनिङ्समा ७ चौका र ४ छक्का प्रहार गरे । उनले कोरे एन्डरसनस“ग पा“चौं विकेटमा १ सय ३ रनको साझेदारी गरेका थिए । जसले न्युजिल्यान्डलाई विजयको बाटो देखाएको थियो ।
एन्डरसनले ५८ रन बनाए । ५७ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । कप्तान एवंम ओपनर ब्रेन्डन म्याकलमले २६ बलमै ५९ रन बनाउदा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ३ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाबाट फाफ डु प्लेसिसले ८२, कप्तान एबी डी भिलियर्सले ६५ र डेविड मिलरले १८ बलमै ६ चौका र ३ छक्काको मद्धतले ४९ रन बनाएका थिए । न्युजिल्यान्डबाट एन्डरसनले ३ विकेट लिएका थिए ।

0 comments