कर्मचारी टनाटन, स्वास्थ्य केन्द्र खाली सर्वसाधारणले सेवा पाएनन्
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

दोलखा, फाल्गुन २६ - प्रसव बेथाले च्यापेपछि झुलेकी आम्बिका पाखि्रनलाई हतारहतार गाउँलेले नजिकको स्वास्थ्य चौकीमा पुर्‍याए । बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीमा ताल्चा मारेर कर्मचारी आ-आफ्नो काममा हिडेकाले छटपटाइरहेकी पाख्रिनलाई सुत्केरी गराउनकै लागि सदरमुकाम चरिकोटमा ल्याउनु परेको छ । सेवा नपाएको रीसले आम्बिकाका आफन्तले झुले स्वास्थ्य चौकीमा कर्मचारीले लगाएको ताल्चामाथि अर्को ताल्चा लगाइदिएका छन् ।
७ जनाको दरबन्दी भएको स्वास्थ्य केन्द्र ३ दिनदेखि तालाबन्दी भएको गाविस सचिव सुनिल बस्नेतले जानकारी दिए । उनका अनुसार इन्चार्ज हेल्थ असिस्टेन्ट सत्रुघ्न मण्डल तालिममा गएका रहेछन् । ३ जना कर्मचारीले बिदा नै नलिई बेपत्ता भएको पाइयो । एक महिला कर्मचारी भने नारी दिवस भएकाले नआएपछि स्वास्थ्य संस्था नै बन्द हुन पुगेको हो ।
'घरछेऊमै बर्थिङ सेन्टर भैकन पनि यस्तो दुःख पाएँ,' अम्बिकाकी पति सरकास पाखि्रनले २४ सै घण्टा खुल्नुपर्ने स्वस्थ्य केन्द्रबाट सेवा नपाएको गुनासो गरे । दरबन्दी अनुसारको सबै कर्मचारी भएको झुले स्वास्थ्य चौकीमा लापरबाही हुनु गम्भीर भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. अर्जुन सापकोटाले स्वास्थ्य केन्द्र नै बन्द गरेर हिड्ने कर्मचारी कार्वाहीको भागिदार हुने बताए । सरकारले आवश्यकता अनुसार कर्मचारी पठाएको भए पनि स्वास्थ्य चौकीहरुमा कर्मचारी नबस्ने समस्या टाउको दुःखाइ भैरहेको उनको भनाई छ ।
जिल्लामा १ अस्पताल र २ वटा प्राथमिक स्वास्थ्य केन्द छ । ग्रामीण भेगहरुमा ५२ वटा स्वास्थ्य केन्द्रहरु छन् । सरकारले उक्त संस्थाहरुमा दरबन्दी अनुसारको कर्मचारी पुरै पठाएको जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा छ । प्रयाप्त कर्मचारी हुँदा पनि नागरिकले चित्तबुझ्दो सेवा पाउन नसकेको गुनासो बेलाबेला मुद्दा नै बनेर आउने गरेको छ । स्वास्थ्य समितिहरुको निस्कृयता र अनुगमन प्रभावकारी बनाउन नसकिएकाले यस्तो समस्या आउने गरेको कार्यालयको बुझाई छ । बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. सापकोटाका अनुसार स्वास्थ्य समितिहरु सक्रिय भएका गाविसहरुमा कम समस्या आउने गरेको बताउछन् । २ नगर  र ४८ गाविस सबैमा स्वास्थ्य संस्था सञ्चालन गर्न समिति बनाइएका छन् । नगरमा कार्यकारी अधिकृत र गाविसमा सचिवको अध्यक्षतामा समिति बनेका छन् । सक्रिय देखिएको करिब २० गाविसका स्वास्थ्य संस्थाहरु आलोचनाविहिन ढंगले चलिरहेको दावी कार्यालयको छ ।
जनस्वास्थ्य सेवा दिन दोलखामा सरकारले २ सय ६७ जना स्थायी र ३७ जना अस्थायी कर्मचारीको व्यवस्था गरेको छ । स्वास्थ्यको अभिलेखमा ५ जना डाक्टरले जिल्लाको ३ स्थानमा सेवा दिइरहेका छन् । हेल्थ असिस्टेन्ट २५ जना खटिएका छन् । १ सय १५ जना अहेवको व्यवस्था छ । स्टाफ नर्स ५ जना छन् । अनमी १ सय १५ जनाले जिल्लाभर छरिएर सेवा दिइरहेका छन् । २० जना कार्यालय सहयोगीको व्यवस्था छ ।
अभिलेखमा देखिएका जनशक्तिहरु मध्ये कतिपयले आफूले काम गर्ने स्वास्थ्य संस्था जाने बाटोसमेत नदेखेको आरोप गाउँलेहरु लगाउँछन् । कतिपय कर्मचारीहरु आउदै नआई सरुवा भैसक्छन् । ग्रामीण भेगमा कार्यरत एक स्वास्थ्य संस्थाका इन्चार्जका अनुसार हाजिर भएर गएपछि फर्किएर नआउने कर्मचारीहरुले पनि मस्तसँग तलब लिइरहेका छन् ।
दोलखामा जनस्वास्थ्य सेवामा समर्पित कर्मचारीलाई मात्र सरकारको बाषिर्क तलबभत्तामा झन्डै ८ करोड खर्च हुन्छ । जिल्लाबासीका लागि औषधिका लागि करिब ३० लाख रुपैयाँ आउछ । थप करिब ७० लाखको औषधि नै कार्यालयमा आउछ । सरकारी संस्थाहरुमा राम्रो उपचार नपाएपछि विरामी निजीतिर जानाले बाषिर्क लाखौको औषधी सडेर जाने गरेको छ । कतिपय स्वास्थ्य संस्थाहरुमा सडेको औषधीको डङ्गुर देखिन्छ । वास्ता नगरिएकाले यसको लगत भने जिल्ला स्वास्थ्य कार्यालयमा छैन् ।

जनस्वास्थ्य सेवाभित्रको वेथिति अन्त्यका लागि प्रभावकारी अनुगमण र कार्वाहीको योजना बनाइरहेको डा. सापकोटाले ईकान्तिपुरलाई बताएका छन् । स्थानीय निकाय नभएकाले स्वास्थ्यमा केही वेथिति देखिएको उनको अनुभव छ । 'गाविसस्तरीय समितिहरु कृयाशील बनाउन सकियो भने पनि समस्याहरु कम हुँदै जान्छन,' उनले भने ।

0 comments

Post a Comment