विदेशमा खाताका लागि कसैलाई अनुमति छैन
काठमाडौ, फाल्गुन २७ - विदेशमा कुनै पनि नेपालीले बैंक खाता संचालन गर्न अनुमति नलिएको भेटिएको छ । स्विजरल्याण्ड स्थित एचएसबीसी प्राइभेट बैंकमा नेपालीको नाममा रकम देखिए पछि अनुसन्धान गर्दा यस्तो भेटिएको हो । विदेशमा रहदा खोलिएको खाताबारे राष्ट्र बैंकलाई जानकारी दिएर संचालनमा राख्न सकिने कानून छ । 'विदेशमा खाता संचालनका लागि कुनै पनि अनुमति लिइएको छैन' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'धेरै पहिला केहि खाताको जानकारी दिने गरिएको सुनिए पनि राष्ट्र बैंकमा यस्ता कुनै पनि खाताको तथ्याकं छैन ।'
यसले एचएसबीसी बैंक खातामा रहेको नेपालीको करिब साढे ५ अर्ब रुपैयाँ अवधै आर्जन हुनसक्ने संभावना बढाएको छ । 'यो जानकारी सहित राजश्व अनुसन्धान विभागलाई पत्र पठाइसकेका छौ' राष्ट्र बैंक स्रोतले भन्यो,'त्यहाबाट प्रारम्भिक अनुसन्धान भएपछि हामी अनुसन्धान अघि बढाउनेछौ ।' राष्ट्र बैंकले जानकारी आएपछि स्विटजरल्याण्डको केन्दि्रय बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ । 'पत्र समेत तयार भैसकेको छ' स्रोतले भन्यो,'छिटै पठाउनेछौ ।'
सरकारले अनुसन्धान अघि बढाउन सके अन्य बैंक र मुलुकमा हुनसक्ने नेपालीको अवैध सम्पत्तीबारे छानबिन गर्न पनि सजिलो हुनेछ । खोज पत्रकारहरुको एक संस्था इन्टरनेशनल कन्सोटियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले स्विस बैंकमा २००७ सम्म खोलिएका खाताको जानकारी सार्वजनिक गरेको थियो । जसले नेपालका ८ जनाको ३६ वटा बैंक खाता एचएसबीसी प्राइभेट बैंकमा देखाएको थियो । ती खातामा अनुमानित साढे ५ अर्ब रुपैयाँ बराबरको रकम रहेको जानकारी चैत अन्तिममा सार्वजनिक भएको थियो ।
नेपालीको नाममा स्विस खाता रहेको जानकारी सार्वजनिक भएपछि राष्ट्र बैंकले पनि तथ्याकं पल्टाउन थालेको थियो । तर कुनै पनि जानकारी नभेटिएको हो । 'पछिल्लो केहि वर्ष देखि कुनै खाता पनि अनुमति लिएर संचालन भएको देखिदैन र धेरै वर्ष पहिलाका तथ्याकं पनि भेटिएन' राष्ट्र बैंकको विदेशी विनिमय विभागका एक अधिकारीले भने ।
स्विस बैंकबारे पछिल्लो खुलासा पछि बिभिन्न मुलुकले अनुसन्धान थालेका थिए । सरकारले अनुसन्धान थाल्ने कुनै तयारी नगरेको देखेपछि संसदको अर्थ समितिले फागुन ३ गते अर्थ मन्त्रालय, राष्ट्र बैंक, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागका प्रतिनिधि बोलाएर छलफल गरेको थियो । छलफल पछि समितिले सरकारलाई अनुसन्धान गर्न र रकम राख्नेलाई कारवाही अघि बढाउन निर्देशन दिएको छ ।
स्विस लिक्स नामबाट सार्वजनिक भएको तथ्याकंले नेपाल सँग जोडिएका करिब २० प्रतिशत खाता नाम र कम्पनीको जानकारी नराखी नम्बरबाट चलाइएका छन् । स्विस बैंकले ग्राहकको गोपनियताका लागि नम्बर मात्र राखेर खाता संचालन गर्न पाउने सुविधा दिन्छ । साथै करिब ३० प्रतिशत खाता अफसोर कम्पनीको नाममा देखिन्छ । ठुलो कर छुट हुने र ट्याक्स हेभन भनेर चिनिने स्थानमा यस्ता अफसोर कम्पनी धेरै खोलिएका हुन्छन् । जहाँ अवैध धन पुग्ने संभावना रहन्छ । स्विस बैंकमा रहेका ५० प्रतिशत खाता भने व्यक्तिगत नाममा देखिएका छन् ।
स्विस लिक्सको तथ्याकं अनुसार नेपालीको नाममा रहेको एउटै खातामा ३ अर्ब रुपैयाँको हाराहारी रकम देखिन्छ । नेपालका ८ ग्राहक मध्ये एकले ३ देखि साढे ३ करोड डलरको विचमा रकम राखेको देखाएको हो । तीन ग्राहकका खातामा २० देखि ४० लाख डलरको हाराहारी रकम देखिन्छ । बाँकी ४ खातामा भने १ देखि २० लाख डलरको हाराहारी रकम रहेको विवरण सार्वजनिक भएको छ । रकम सार्वजनिक भएपनि राख्ने व्यक्तिको विवरण बाहिर आइसकेको छैन । बिभिन्न मुलुकबाट कर छली गर्दै अवैध आर्जन स्विटजरल्याण्ड पुर्याउने प्रचलन लामो समय देखि कायम छ ।
यहि तथ्याकं सार्वजनिक भएपछि भारतिय कर विभागले एचएसबिसिको भारत स्थित कार्यलयमा छापा मारिसकेका छन् । पछिल्लो समय उक्त विभागले एचएसबीसीलाई पत्र लेखेर उपस्थित हुन भनेको छ । यस्तै पत्र अन्य मुलुकका कर सम्बन्धी निकायले पनि पठाइसकेका छन् ।

0 comments