विश्व रेकर्ड बनाए कुमार सांगकाराले
ब्याट्सम्यान कुमार सांगाकाराले विश्व रेकर्ड बनाएका छन्। अष्ट्रेलिया र न्यूजील्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार स्कटल्यान्डविरुद्दको खेलमा उनले वान डे क्रिकेटको इतिहासमा लगातार चार खेलमा सतक बनाउँदै एउटै विश्वकपमा सबैभन्दा बढी सतक बनाउने रेकर्ड बनाएका हुन्।
उनले स्कटल्यान्डविरुद्दको बुधबारको खेलमा ९५ बलमा १ सय २४ रन बनाएका थिए। त्यस क्रममा उनले १३ चौका र ४ छक्का समेत प्रहार गरे।
यसअघि वान डे क्रिकेटमा लगातार तीन सतक बनाउने रेकर्ड अहिलेसम्म ६ जना खेलाडीको नाममा छ। लगातार तीन सतक लगाउने खेलाडीमा दक्षिण अफ्रिकाका तीन तथा दुर्इ पाकिस्तानी र एक न्यूजिल्यान्डका खेलाडी छन्।
वान डे क्रिकेटमा लगातार तीन खेलमा सतक लगाउने रेकर्ड सबैभन्दा पहिले सन् १९८२-८३ मा भारतविरुद्द लगातार तीन वान डे खेलमा सतक जोडेका पाकिस्तानी ब्याट्स्यान जहिर अब्बास राखेका थिए।
उनीपछि पाकिस्तानकै सईद अनवर, दक्षिण अफ्रिकाका हर्सेल गिब्स, एबी डिभिलियर्स, क्विन्टन डिकक र न्युजिल्यान्डका रोज टेलरले पनि लगातार तीन खेलमा सतक बनाएका छन्।
सांगकाराले जारी विश्वकपमा बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया र स्कटल्यान्डविरुद्द सतक प्रहार गरेका छन्।
सतक बनाउने क्रममा उनले बंगलादेशविरुद्द अभिजित १०५ रन र इंग्ल्यान्डविरुद्द अभजित ११७ रन तथा अस्ट्रेलियाविरुद्द १०४ रन बनाएका थिए।
स्कटल्यान्डविरुद्दको सतकसहित सांगाकाराले विश्वकप क्रिकेटमा ५ सतक बनाइसकेका छन्। विश्वकपमा सबैभन्दा धेरै सतक बनाउने खेलाडीको रेकर्ड भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । उनले ६ वटा विश्वकपमा ६ वटा सतक बनाएका छन्। यसअघि अष्ट्रेलियाका रिकी पोन्टिङले कुल ५ शतक बनाएका थिए।

0 comments