नाच्ने गाउनेलाई लाखौं बाड्ने, किड्नी फेल भएकालाई दुईहजार दिन कानुनको कुरा गर्ने ? पुरा पढ्नुहोस्
पुख्र्यौली थातथलो स्याङ्जा भएपनी मास्टर थापाले भारतको मुम्बई शहरलाई कर्मथलो बनाए । तीन वर्षको उमेरदेखि नै मुम्बईको हावापानीमा हुर्केका थापाले बाल ठाकरेको समिपमा रहेर लामो समय प्रवासी नेपालीहरुको हक अधिकारका लागी काम गरे । अहिले बाल ठाकरे छैनन् । उनका छोरा उद्धव ठाकरेको नेतृत्वमा रहेको ‘शिव सेना’ ले महाराष्ट्रमा अहिले पनि उत्तिकै प्रभाव जमाईरहेकै छ । मास्टर थापा त्यहि शिवसेना मातहतको ‘नेपाली श्रमिक मजदुर युनियन’ को अध्यक्षको रुपमा कार्यरत छन् । केही दिनअघि मुम्बईको एक काठ गोदाममा भएको आगलागीमा परि मृत्यु भएका नेपालीहरुका लागी सरकारसँग क्षतीपुर्तीको पहल गर्न काठमाडौं आईपुगेका थापासँग रातोपाटीका लागी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
मुम्बईमा रहेका नेपालीहरुको अवस्था कस्तो छ ?
बहुत खराब छ । आजभोली मुख्य दुःखको कुरा के छ भने, सुदुरपश्चिम वालाहरुले धेरै चोरी डकैती गरिरहेका छन् । भर्खरै कैलालीका केही युवाहरु चोरी गरेर नेपाल आएका रहेछन् । उनीहरुले मुम्बईको एक घर फोडेर ३५ लाख चोरेका थिए । वर्षौं देखि सुन पसलमा काम गर्नेहरु देखि कसैको घरमा वासिङ गर्न बसेकाहरु र दरवानहरु पनि चोरीमा संग्लग्न हुन थालेका छन् । त्यसको परिणाम सिधा–सादा नेपालीलाई आजकाल महाराष्ट्रमा काम मिल्न मुस्किल हुँदै छ ।
नेपालीहरुको स्वभाव नै त्यस्तै हो, या त्यहाँको वातावरणले त्यस्तो बनायो ?
जनयुद्ध सकिएर जब नेपाल शान्ति प्रक्रियामा प्रवेश ग¥यो, त्यसपछि धेरै डुब्लिकेट माओवादीहरु भारत छिरे । केहीको परिचय पत्रहरु हेर्दा उनीहरु डुप्लिकेट भएका पत्ता लाग्यो । तिनै डुप्लिकेट माओवादी सक्रिय भएर अहिले पनि चोर्ने धन्दा चलाईरहेका छन् ।
मुम्बईमा नेपालीहरु कस्ता–कस्ता काममा संलग्न छन् ?
धेरै काममा संलग्न छन् । वासम्यानदेखि डाक्टरसम्म । त्यसमा कत्तिपय सेक्युरिटीमा काम गर्नेहरुका छोराछोरी अहिले डाक्टर भएका छन् । पुरानो पिढीमा गाडी धुनेदेखि दरवानसम्म थिए तर अहिले तिनका छोरा नातीले राम्रो पेशा अंगाल्न थालेका छन् । होटलमा वेटर र कुकहरु पनि धेरै छन् ।
त्यस्ता क्रियाकलापबाट उनीहरुलाई टाढा राख्न तपाईंले कस्तो भुमिका खेल्दै हुनुहुन्छ ?
मेरो प्रयासले महराष्ट्रमा यस्ता चोरीका घटनाहरु क्रमशः कन्ट्रोल हुँदैछ । कमिस्नर र डिजीपीलगायत स्थानीय चौकीको सम्पर्कमा रहेर मर्डर केशका अपराधीलाई छिटोभन्दा छिटो पक्रने प्रयत्नमा हुन्छु । तर हाम्रो नेपाली भाइलाई म के भन्छु भने राम्रो थाहा नभएका मान्छेहरुको ग्यारेन्टी नलिनुस् । भोली बदमासी गरेमा समातेर ल्याउन सक्ने कन्फिडेन्ट नभएसम्म ग्यारेन्टी लिनुको अर्थ छैन । २० वर्ष काम गरेको विश्वासको आधारमा भारतीय महाजनहरुले नयाँ नेपाली युवालाई सारा सम्पतीको चावी सुम्पिँदा उनीहरुले सात दिनमै पुराना २० वर्ष पसिना बगाउनेहरुको समेत इज्जत समाप्त गरिदिएका छन् ।
चोरी धन्दामा लाग्नेबाहेक सोझा नेपालीकोे संरक्षणमा चाहिँ कस्तो भुमिका खेल्दै हुनुहुन्छ ?
मेरो सम्पर्क र पहुँचमा भएकाहरुलाई मुम्बईमा संरक्षण गरेको छु । हाम्रा सक्रिय संगठनहरुका माध्यमबाट संरक्षणको काम हुने गरेको छ । वासमेनदेखि करोडपतिसम्म समस्या पर्दा हामीकोमा आउँछन् । किनकी ‘बालासाप ठाकरेजी’ को पासमा हामी भएकाले हाम्रो पहिचान राम्रो छ । दिल्लीको होटलमा कामबाट निकालिनेदेखि घर आउनेबेला छुट्टि नपाएकाहरुको समस्यामासमेत मैले समाधान गरिदिएको छु ।
अहिले ‘बाल ठाकरे’ को परिवारको अवस्था कस्तो छ ?
बहुत राम्रो छ, विश्वमा हिन्दु नेताको रुपमा पहिचान बनाउनु भएका बाल ठाकरेको स्वर्गवास पछि महाराष्ट्रमा उहाँका छोरा उद्धव ठाकरे सापको पनि उस्तै शान छ । मुम्बई उद्धवजीको नेतृत्वमा रहेको शिव सेनाको हो । त्यहि शिव सेना मातहत ‘नेपाली कामदार सेना’ भन्ने हाम्रो नेपाली युनियन छ । म त्यहि युनियनको अध्यक्षको रुपमा कार्यरत छु ।
शिवसेना क्षेत्रीय रुपमा शक्तिशाली मानिन्छ तर भारतका अन्य भागमा चैं यसको प्रभाव नगन्य छ नी ? महाराष्ट्रमा अहिले हाम्रै राज छ । दिल्लीमा पनि हाम्रो उपस्थिती छ । जम्मु काश्मिरमा हाम्रो उपस्थिती मजवुद छ । उत्तराखण्ड, युपी र विहारतिर पनी शिवसेना सक्रिय हुँदै छ । शिवसेनाले नेपाललाई कसरी हेरिरहेको छ ? मैले अहिलेका शिवसेना प्रमुख उद्धवजी लाई नेपालमा दुईवटा शिवसेना भएको कुरा जानकारी गराएको छु । नेपालमा सक्रिय दुबै शिवसेनाले चुनावमा पनि भाग लिए । तीन सालदेखि उनीहरु समानान्तर संगठन चलाईरहेका छन् । अब म फर्केपछि उद्धव सापले नेपालको शिवसेना बारे केही महत्वपूर्ण फैसला लिनुहुन्छ । तपाईंहरुलाई हिन्दु अतिवादी भन्छन् नि, हैन ?
हैन । विश्वमा भएका हिन्दुहरुलाई एक बनाउने बाला सापको सोच हो । यो संगठन हिन्दुराष्ट्र बचाउनका लागि खोेलिएको हो । नेपालमा पनि धर्म परिवर्तन रोक्न र हिन्दु बचाउनका लागी शिवसेना खोलिएको हो । यहाँ कोही गुण्डागर्दी गर्न बाला सापले नेपालमा शिवसेना खोल्ने अनुमति दिएको हैन ।
तपार्इं अहिले नेपाल किन आउनुभएको ?
पशुपतिनाथमा एक सय जोडीको वैवाहिक कार्यक्रम थियो । त्यसका लागी राहुलेश्वर ट्रस्टमार्फत गौसला चलाउने गुरुजी र हाम्रा मन्त्रीहरुलाई पनि निम्तो दिइएको थियो । उनीहरु कोही आउन नपाउने भएपछि उहाँहरुको आशिर्वाद लिएर म आएको । हिन्दुराष्ट्रलाई शिवसेना र उद्धवजीको तर्फबाट शुभेच्छा भएको सन्देश दिनु मेरो आगमनको अर्को काम थियो । मैले यहाँ परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटें । महाराष्ट्रमा नेपाली दुतावासको शाखा खोल्नका लागी मैले उहाँहरु सँगको भेटमा कुरा गरेको छु । लाखौं नेपाली हिन्दुस्तानमा छौं तर नेपाली दुतावासको गति हेर्दा लाज लाग्छ । को अधिकारी थाहा छैन ढिलासुस्तीको त कुरै नगरौं । विद्यार्थीहरु जान्छन् स्ट्याम्प मात्रै हान्न पनि कोही तयार हुँदैन । नेपाली दुतावास मात्रै भएर पुगेन ? विल्कुल, तिनीहरुसँग मेरो अब्जेक्सन छ । केही वर्ष पहिले कार्यवाहक राजदुतको रुपमा कार्यरत एक महिलाले जर्मन बेकरीमा बम ब्लाष्ट भएका बेला घटनास्थलमा पनि आईनन् । अमेरिकी राजदुतलगायत दुनियाँ आए तर पटक–पटक फोन गर्दा पनि दुतावासका पदाधिकारी उपस्थित भएनन् । दुतावासले वेवास्ता गरेपछि मैले तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई फोन गरेँ । उनले भन्छु भने तर भन्दै भनेनन् ।
कस्ता गैर जिम्मेवार मन्त्री ? प्रवासमा बसेका नेपालीहरुका लागि यहाँका मन्त्रीको कुनै जिम्मेवारी छैन ?
धेरै नेपाली भाइ बहिनी जेलमा छन् तिनका बच्चाहरुको बिजोग छ । कोही खोज खबर नै गर्दैन ।
खाडी देशमा लगेर बेच्नका लागि लगिएका नेपाली चेलीहरुको उद्धार गर्छौँ हामी, तर तिनलाई कहाँ राख्ने ?
राख्ने ठाउँ छैन । नाच्ने गाउँनेहरुलाई लाखौं बाड्ने दुतावास किड्नी फेल भएका प्रवासी नेपालीलाई कानुनले दुई हजारमात्र मिल्ने कुरा गर्छ ।
भारतमा नेपाली र दुतावासको यस्तो अवस्थाबारे तपाईंले यसपटकको भेटमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसँग कुरा राख्नुभो ?
जत्ति कुरा गरेपनि चासो नै लिँदैनन् । किन त्यस्तो भयो, कसरी अब सहयोग गर्ने भन्ने बारेको कुरा गर्न उहाँहरुलाई समय नै छैन । मतलव नै छैन । म फोटो खिच्न मात्रै त आएको हैन नी । परराष्ट्रमन्त्रीले केही प्रतिक्रिया नै जनाएनन् । प्रधानमन्त्रीजीले सुष्मा स्वराज सँग कुरा गर्छु भन्नुभएको छ । केपी ओलीले आफूले गर्न सक्ने पहल प्रयत्न गर्छु भन्नुभएको छ ।
अहिले नेपाल संविधान निर्माणको अन्तिम चरणमा रहेको बेला तपार्इंहरुको संगठन शिवसेना वा गठवन्धनको विजेपीका नेताहरुको केही सन्देश पनि लिएर आउनुभएको थियो ?
महाराष्ट्रमा मोदिलाई एक टाईम बाला सापाले बचाउनुभएको थियो । विजेपी महाराष्ट्रमा शिवसेनाको कान्छी औंला समातेर माथि आएको हो । महाराष्ट्रमा विजेपीको कुनै भरपर्दो नेता छैनन् ।
नेपालमा तपाईहरुसँग विचार मिल्ने राप्रपा नेपालका नेताहरुसँग पनि भेट भयो ?
उनीहरुको र हाम्रो सोच अलग छ । हामी हिन्दुवादी हौं । नेपालमा पनि हिन्दुराष्ट्र हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । बाबु बाजेले कमाएको नाम हो, ‘हिन्दुराष्ट नेपाल’ । तर चार जनाले एउटा कोठामा बसेर बाबुको सम्पत्ती क्यान्सिल हुन सक्दैन । यसका विरुद्ध अब प्रवासमा बस्नेहरु एक हुँदैछन् । बरु मेरै बलि जाओस् तर हिन्दुधर्मको खिलापमा निर्णय हुँदा हामी प्रवासी चुपचाप बस्दैनौं । तर रप्रपा नेपालका कुनै नेतासँग मेरो भेट भएको छैन ।
पूर्व राजासँग तपाईंहरुको कुराकानी हुन्छ कि हुँदैन ?
हामी महेन्द्रलाई मात्रै राजा मान्छौं, उनीबाहेक हामीले अरु राजा देखेको छैन ।
अब बन्ने संविधानमा हिन्दुराज्य नहुने पक्का छ, तपाईंहरु के गर्नुहुन्छ ?
अब कुछ हुनेवाला छ । हिन्दुस्तानका साधु सन्तले नै केही गरे भने तुरन्तै दिनुपर्छ हिन्दुराज्य । संविधान त अहिले पनि छ तर संशोधन मात्रै हुन लागेको हो, त्यसमा हिन्दुराज्य र गणतन्त्र थपिन्छ बस् त्यति हो । त्यो नभए जनतामा गएर हिन्दुराज्य चाहिने कि नचाहिने भनेर जनमत संग्रह गरिनुपर्छ ।
त्यसका लागि जनतामा जान किन डराउँछ सरकार ?

0 comments