नौ नयाँ अनुहार
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौ, फाल्गुन  

नेपालका लागि फुटबल महाकुम्भ 'विश्वकप' खेल्ने सधैं सपना बन्दै आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापन, सुविधा र खेलाडीको स्तरअनुसार तत्कालै नेपालीलाई विश्वकप विपना बन्ने सम्भा
वना पनि छैन । तर, क्रमबद्ध सुधार गर्दै नेपाललाई विश्वकपको बाटोमा अघि बढ्ने अवसर भने छ । यस्तोमा नेपाल दोस्रो चरण पुग्न सक्छ र त्यसले ठूला टिमसँग नियमित खेल्दै एसियन कप २०१९ सम्म पुर्‍याउन सक्छ ।
विश्वकप २०१८ रुसमा हुनेछ र त्यसको प्रारम्भिक छनोटमा नेपालले छिमेकी प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । चिरपरिचित प्रतिद्वन्द्वी भारत नेपालभन्दा बलियो छ । नेपालसँग इतिहासको तथ्यांक पनि भारतकै पक्षमा छ । पन्ध्र भेटमा ११ खेल भारतले जितेको छ । नेपालले दुई खेलको नतिजा मात्र आफ्नो बनाउन सकेको छ । दुई खेल (टाइब्रेकरसहित) बराबरीमा टुंगिए ।
भारत दक्षिण एसियाकै सबभन्दा बलियो भए पनि उसलाई हराउनै नसक्ने भन्ने छैन । डेढ वर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । त्यसको दुई महिनापछि नै सिलीगुढीमा भएको मैत्रीपूर्ण खेलमा भने भारतले २-० को जित निकालेको थियो । दशरथ रंगशालामा प्रभावशाली देखिएको नेपाली टिम कञ्चनजंघा स्टेडियममा भने निरीह देखिएको थियो । यी दुईको पछिल्लो मैदानी भेट त्यही हो ।
'भारत पुरानो प्रतिद्वन्द्वी हो,' राष्ट्रिय टिमका रोहित चन्दले भने, 'भारतविरुद्ध हामीले प्रायः राम्रै खेल्ने गरेका छौं । मौका ५०-५० हो । यसपल्टको विश्वकप छनोटमा पनि भारतविरुद्ध राम्रो खेल्छौंजस्तो लाग्छ ।' सेन्टरब्याक र डिफेन्सिभ मिडफिल्ड दुवै भूमिकामा खेल्ने अर्का खेलाडी सन्दीप राई पनि नेपाल विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने आस गर्छन् ।
'मोफसलमा निरन्तर प्रतियोगिता भइरहेकाले सबै खेलाडी फिट छन् । राष्ट्रिय लिग पनि भइरहेकै समयमा छनोट परेको छ । फरवार्डले गोल गर्नसके दोस्रो चरण पुग्छौंजस्तो लाग्छ,' सन्दीपले भने, 'भारतीय टिममा इन्डियन सुपरलिग खेलेका खेलाडीको बाहुल्यता छ र राम्रो पनि । बिहीबार गुवाहाटीमा हुने पहिलो खेलमा गोल गर्न नदिने योजनामा छौं । यस्तो सम्भव भए भारतलाई यहाँ (नेपाल) हराउन सक्छौं ।'
फिफा वरीयतामा १ सय ८० औं स्थानमा रहेको नेपालभन्दा नौ स्थान माथि छ, भारत । के भारतविरुद्ध जित्न सकिन्छ त ? 'टिम राम्रो छ । ट्रेनिङ निकै राम्रो भएको छ । त्यसैले जित्नेमा विश्वस्त छौं,' राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ज्याक स्टेफनोस्कीले भने । उनले सम्हालेको नेपाली टिमले नै भारतलाई साफ च्याम्पियनसिपमा हराएको थियो । अहिले पनि त्यही टिमका खेलाडीको वर्चस्व छ । दशरथ रंगशालामा भारतविरुद्ध गोल गरेका अनिल गुरुङ र जुमनु राई अहिले पनि अग्रपंक्तिमा छन् । अर्का फरवार्ड सन्तोष साहुखल पनि राम्रो लयमा छन् ।
दुवै टिम राम्रो लयमा भने छैनन् । पछिल्ला ५ खेलयता दुवै जितविहीन छन् । नेपालकै पूर्वप्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले भारतीय टिम सम्हालेका छन् । उनको टिमलाई गुवाहाटीमा रोक्नसके चैत ३ मा दशरथ रंगशालामा नेपालले ठूलो आस गर्न सक्छ । यो प्ले-अफको विजेता विश्वकप छनोटको समूह चरणमा पुग्नेछ । दोस्रो चरणको छनोटका ८ समूहमा ४० टिम हुनेछन् । त्यसका समूहविजेता र उत्कृष्ट ४ उपविजेता विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यससँगै उनीहरू एसियन कप २०१९ लाई पनि छनोट हुनेछन् । चार वर्षपछि एसियन कप २४ टिमले खेल्नेछन् । विश्वकप छनोटमा असफलहरूबीच एसियन कपको बाँकी १२ स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
विशाललाई पहिलोपल्ट अवसर
मनाङ-मस्र्याङ्दीका मिडफिल्डर विशाल राईले पहिलोपल्ट राष्ट्रिय टिममा अवसर पाएका छन् । उनीसहित प्रारम्भिक छनोटलाई २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा शुक्रबार भयो । शिव श्रेष्ठलाई वैकल्पिकमा राखिएको छ ।
यसअघि बन्द प्रशिक्षणमै रोकिंदै आएका २१ वर्षे विशालले भने, 'मिहिनेत गरिरहेको छु र पछिल्लो समय प्रदर्शन राम्रो पनि भइरहेको छ । त्यसैले राष्ट्रिय टिममा पहिलोपल्ट छनोट हुँदा खुसी लागेको छ ।' उनीसहित मिडफिल्डर हेमन गुरुङ, डिफेन्स अनन्त तामाङ र दिनेश राजवंशीले भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्युको आस गरेका छन् । यू-१७ का अनन्त, दिनेश र एपीएफका हेमन असोजमा कतारमा फिलिपिन्सविरुद्ध ३-० ले हारेको नेपाली टिममा पनि समावेश थिए । तर, उनीहरू मैदानमा ओर्लिएका थिएनन् ।
अनन्त, अञ्जन विष्ट, विकेश कुथु, विक्रम लामा, विमल घर्तीमगर, विशाल, दिनेश, हेमन र रञ्जित धिमाल विश्वकप छनोटमा नयाँ खेलाडी हुन् । कप्तान सागर थापा, गोलकिपर रितेश थापा, मिडफिल्डर राजु तामाङ, फरवार्डहरू अनिल गुरुङ, जुमनु राई र सन्तोष साहुखलले विश्वकप २०१० को छनोटमा ओमानविरुद्ध आठ वर्षअघि खेलेका थिए । त्यो टिममा सन्दीप राई पनि थिए ।
सागर, रितेश, अनिल, जुमनु, सन्तोष, सन्दीप, गोलकिपर किरणकुमार लिम्बू, डिफेन्स रविन श्रेष्ठ, विराज महर्जन, रोहित चन्द, मिडफिल्डर जगजित श्रेष्ठ, भोलानाथ सिलवाल, फरवार्ड भरत खवास विश्वकप २०१४ को छनोटमा चार वर्षअघिको नेपाली टिममा थिए । यसपल्ट वैकल्पिकमा परेका शिव श्रेष्ठ पनि चार वर्षअघिको छनोटमा खेलेका थिए । सागर विश्वकप छनोटको दुई संस्करणमा कप्तानी गर्ने पहिलो हुँदैछन् । यसअघि एकपछि अर्को संस्करणमा कप्तान फेरिएका थिए ।

0 comments

Post a Comment